अब ए डिभिजनका क्लब आन्दोलनमा

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगका क्लबहरू आन्दोलनमा उत्रने तयारी गरेका छन्। डिभिजन लिग फुटबललाई व्यवस्थित गर्न भन्दै क्लबहरू आन्दोलनमा उत्रने तयारी गरेका हुन्।
डिभिजन लिगलाई स्वतन्त्र र व्यवस्थित बनाउने माग सहित क्लबहरूले बिहीबार प्रदर्शनको तयारी गरेका हुन्। लिगको विषयमा छलफल गर्न एन्फाले भोलि बिहीबार क्लबहरूलाई बैठकमा बोलाएको छ।
एन्फाले यसअघि क्लबहरूसँग राष्ट्रिय लिग गर्ने सहमति गरेको थियो। डिभिजन फुटबलको माग गर्दै खेलाडीहरू आन्दोलनमा उत्रिएपछि एन्फाले क्लबसँग छलफल गरेर डिभिजन फुटबल नै अघि बढाउने बाचा गरेको छ।
तर, लिगको विषयमा एन्फाको गतिविधिबाट असन्तुष्ट बनेका क्लबहरू भने प्रदर्शनमा उत्रने तयारी गरेका हुन्। लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने, क्लबसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग क्लबहरूको छ।
यसअघि क्लबहरूले स्वतन्त्र लिग समिति निर्माण गर्नेदेखि लिगलाई व्यवस्थित बनाउन एन्फाले गर्नुपर्ने कामको विषयमा माग पत्र सार्वजनिक गरेका थिए।
एन्फाले विगत ३ वर्षदेखि ए डिभिजन लिग फुटबल गर्न सकेको छैन। डिभिजन लिग नहुँदा नेपाली फुटबलको घरेलु क्यालेन्डर अस्तव्यस्त अवस्थामा छ।







-1763515978900.webp&w=3840&q=75)




