स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त
सोमबार, असोज २०, २०८२Admin User

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सिद्धार्थविक्रम पाण्डेलाई स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा नियुक्त गरेको छ।
दक्षिण कोरियाको हानयाङ विश्वविद्यालयमा प्रोफेसर अफ स्पोर्ट्स साइन्सका रूपमा उनी कार्यरत छन्। उक्त विश्वविद्यालयमा उनी करिब १८ वर्षदेखि अध्यापन र अनुसन्धान गर्दै आएका हुन्।
कोरियाली राष्ट्रिय टोली र लन्डन ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीहरूको फिजिकल तयारीमासमेत उनले काम गरिसकेका छन्।
उनलाई राखेप सदस्यसचिव टंकलाल घिसिङले सोमबार नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। पाण्डेको लामो अनुभव र अन्तर्राष्ट्रिय विशेषज्ञतालाई नेपालको खेल विकास सुधारमा उपयोग गर्ने उद्देश्य आफूले राखेको घिसिङले बताए।
(*स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकार हुनुपर्नेमा यसअघि राखेपको विज्ञ सल्लाहकार गएकोमा सच्याइएको छ-सम्पादक)