मन्त्रीविहीन खेलकुद मन्त्रालय

काठमाडौं। जेनजीको आन्दोलनपछि युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री छैनन्। २३ भदौको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएको घटनाको भोलिपल्टै तेजुलाल चौधरीले राजीनामा दिएका थिए।
उनी नेपाली कांग्रेसबाट मन्त्री बनेका थिए। सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०८१ असार ३१ गते युवा तथा खेलकदुमन्त्री बनेका थिए। विवाद नै विवादमा परेका उनी शेखर कोइरालानिकट मानिँदै आएका थिए।
चीन भ्रमणमा रहेका बेला जेनजी प्रदर्शन उत्कर्षमा पुगेपछि नेता कोइरालाले आफूनिकटका मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। त्यसलगत्तै उनीनिकट चौधरीले राजीनामा दिएका थिए। त्यसको तीन दिनपछि पूर्वप्रधान्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्री पद सम्हालेकी थिइन्।
त्यसको दुई साता पुग्न लागिसक्दा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनले रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वधार तथा यातायात र सहरी विकासले कुलमान घिसिङ र गृहले ओमप्रकाश अर्याललाई मन्त्रीमा पाइसकेको छ।
सोमबार मात्रै सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले द्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था तथा गरिबी निवारण, वैज्ञानिक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियारले कृषि तथा सहकारी र पत्रकार जगदीश खरेलले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्।
तर, युवा तथा खेलकुद मन्त्रालयले भने अझै मन्त्री पाउन सकेको छैन। अहिले प्रधानमन्त्री कार्कीले खेलकुदसहित परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राखेकी छन्।
उनले शपथ लिँदै आफ्नो मन्त्रिमण्डल ११ सदस्सीय मात्रै बनाउने घोषणा गरेकी थिइन्। सोमबारसम्म उनको मन्त्रिमण्डल ८ सदस्सीय भइसकेको छ। अब तीन मन्त्री बन्न बाँकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भने संगीता मिश्रको नाम अन्तिम समयमा काटिएको थियो। अहिले पनि खेलकुदभन्दा परराष्ट्र, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य बढी महत्त्वपूर्ण मानिन्छ।
त्यसैले खेलकुद मन्त्रालय आगामी ५ महिना मन्त्रीविहीन बन्ने खतरामा छ।