श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

काठमाडौं। बंगलादेशले एसिया कप सुपर फोमा विजयी सुरुआत गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार टस हारेर पहिले ब्याटिङमा आएको श्रीलंकाले १६९ रनको लक्ष्य दिएको थियो। जवाफमा ब्याटिङ गर्न उत्रिएको बंगलादेशले ४ विकेटको जित निकाल्दै सुपर फोमा सफलता हात पारेको हो।
यो जितसँगै समूह चरणमा श्रीलंकासँग बेहोरेको हारको बदला लिन बंगलादेश सफल भएको छ। इनिङ्सको पहिलो ओभरमै विकेट गुमाएको बंगलादेशलाई साइफ हसनको उत्कृष्ट ब्याटिङले छिट्टै उकास्यो। उनले अर्धशतक बनाएर टोलीलाई स्थिरता दिए।
उनको प्रस्थानपछि टोलीलाई जितको बाटोमा उभ्याउने जिम्मा तौहीद हृदयले लिए। उनले पनि ३७ बलमा ५८ रन प्रहार गर्दै जितनजिक पुर्याए। अन्तिमतिर चामिराको बलमा एलबिडब्लु भए पनि आवश्यक आधार बनाइसकेका थिए।
मध्यक्रममा जाकिर अली र मेहदी हसन द्रुतगतिको विकेटमा फर्किए पनि अन्तिम क्षणमा नासुम अहमदले एक रन लिँदै बंगलादेशलाई १ बल बाँकी छँदै ४ विकेटको जित दिलाए।
यसअघि श्रीलंकाले ब्याटिङ गर्दा कप्तान दासुन शनाकाले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए। उनले ३७ बलमा अविजित ६४ रन बनाए। सुरुआतमा पाथुम निसांका र कुशल मेन्डिसले ४४ रनको साझेदारी गरेका थिए।
तर, मध्यक्रममा लगातार विकेट खस्दा श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन मात्र जोड्न सक्यो। बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने मेहदी हसनले २ तथा तास्किन अहमदले १ विकेट हात पारे।