काठमाडौं। फुटबलमा एक खेलाडीको महत्त्व कति होला? यो प्रश्न सोध्नेलाई जति सरल लाग्छ त्यो भन्दा गाह्रो उत्तर दिनेलाई। अहिले त्यस्तै भइरहेको छ, सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथलाई।
लगातार गोल गर्दै दुई जित दिलाएका फरवार्ड धीरेन्द्रबहादुर शाह ठकुरीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) र नयाँ बस्ती क्लबले तारो बनाएपछि सरस्वती न्याय खोज्न भौँतारिन थालेको छ।
‘कञ्चनपुरबाट फुटबलमा आफ्नो भविष्य बनाउँदै देशको लागि योगदान गर्ने जीवनको ठूलो लक्ष्य बोकेर आएको खेलाडीलाई कुनै गल्तीबिना नै निलम्बन गरी सजायको भागीदार बनाउँदा मानसिक रूपमै विक्षिप्त हुन पुगेको छ,’ क्लबका अध्यक्ष उत्तमराज भण्डारी भन्छन्।
फागुन २५ बाट सञ्चालन भइरहेको लिगमा एन्फाले तोकेको सबै प्रक्रिया पूरा गरी सरस्वतीले धीरेन्द्रलाई मैदान उतारिरहेको थियो। तर, चैत ७ गते भएको आफ्नो क्लबविरुद्ध धीरेन्द्रले निर्णायक गोल गर्दै सरस्वतीलाई १–० को जित दिलाएपछि नयाँ बस्तीले बखेडा झिकेको हो।
टुसाल क्लबसँगको २०७९ को सम्झौतालाई आधार बनाएर नयाँ बस्तीले प्रतियोगिता समितिमा उजुरी हालेपछि धीरेन्द्रलाई अनिश्चितकाको प्रतिबन्ध लागेको छ। उनी पाँच खेलमा मैदान उत्रिन पाएका छैनन्। त्यसै उजुरीलाई टेकेर चैत २५ गते च.नं. १०९७००८१०८२ को पत्रमार्फत एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले उनलाई खेलाउन रोक लगाएका हुन्। योसँगै उनको प्रतिबन्ध कहिले फुकुवा हुन्छ भन्ने यकिन छैन। यता, क्लबले जित निकाल्दै हासिल गरेको नतिजालाई पनि एन्फाले छानबिन नै नगरी उल्टाएको छ।
‘रिलिज पेपरबिनै अर्को क्लबमा आबद्ध खेलाडीलाई अनुबन्ध गरी म्याच नं १४ खेलाएको देखिएकाले प्रतियोगिता नियमावली २०८१ को परिच्छेद २ को नियम २६ आकर्षित हुने ठहर गर्नै ऐ नियमावलीको नियम १९ अनुसार अनुशासनको कारबाही उपयुक्त देखिएको छ,’ सिइओ तुलाधरले पठाएको पत्रका भनिएको छ। नियमावलीको परिच्छेद २ अनुसार अंक निर्धारण गर्ने गरी उक्त खेलको सुरुआती नतिजा रद्द गरी नयाँ बस्तीलाई ३-० गोलको नतिजा दिने निर्णय गरिएको उनले बताएका छन्।
तर, सरस्वती अन्यायपूर्ण निर्णय गर्दै खेलाडीको खेल खेल्ने अधिकार नै हनन गरेको आरोप लगाउँदै आएको छ। ‘प्रतिशोधपूर्ण निर्णयले एउटा होनाहार खेलाडीको खेल्न पाउने अधिकार हनन गरिनुका साथै लामो इतिहास र ठूलो धनराशिको दुःख जेलो गरेर फुटबलमा योगदान गर्दै आएको क्लबलाई अपूरणीय क्षति हुन लागेको छ,’ भण्डारी भन्छन्।
श्री टुसाल क्लबसँग धीरेन्द्रले २०७९ चैत १२ को बी डिभिजन लिगसम्म सम्झौता गरेका थिए। बढीमा यो सम्झौता २०८० सम्म कायम हुनुपर्ने हो। तर, उक्त समय लिग भएन। अर्कोतर्फ लिग नभएपछि उक्त सम्झौतामा उल्लेख भएको २० प्रतिशतको पहिलो किस्ता आजसम्म पनि नदिएको/नपाएको हुँदा उक्त करार स्वतः निष्क्रिय हुने कानुनी व्यवस्था छ। तर, क्लबले उनी आफ्नै खेलाडी दाबी गरेको छ। एन्फाले पनि उनी टुसालकै खेलाडी रहेको स्वीकार गरेको छ।
एन्फाले २०८० चैत्र १४ मा च.नं. १०३१।०८१०८२ को बी डिभिजन क्लबहरूमा करारमा रहेका खेलाडीको नामावली एवं करारको कागजात चार दिनभित्र उपलब्ध गराइदिन सहभागी १४ क्लबलाई पत्राचार गरेको थियो। तर, धीरेन्द्रसँग सम्झौता बाँकी रहेको कुरा टुसालले एन्फालाई पत्राचार गरेकै थिएन।त्यसअघि पनि टुसालले उनको नाम एन्फामा दर्ता गराएकै थिएन। अझ लिग खेल्ने खेलाडीको नाममा फिफा कनेक्ट एपमार्फत घर वा कार्यालय मै बसी सजिलै दर्ता गर्न पाउने भएता पनि टुसालले बेवास्ता गरेको थियो।
तर, चैत्र २५ मा धीरेन्द्रको दर्ता रोक्न टुसालले एन्फालाई पत्र पठाएको थियो। ‘नियम पालना नगरेको, एक पैसा नदिएको निष्क्रिय करारलाई आधार बनाएर एउटा खेलाडीको खेल्ने अधिकार र मानव अधिकार दुवै हनन गरेको, धिरेन्द्रलाई टुसाल क्लबले आफ्नो खेलाडी हो भन्न खोजेको कहीँ देखिन्न। उल्टो अन्य क्लबमा जा समेत रोकेर के गर्न खोजेको हो भन्ने प्रश्न र नियतमाथि नै शंका गर्नुपर्ने देखिएको छ,’ भण्डारी भन्छन्।
अझ कतिसम्म भने चैत ७ को खेललाई लिएर अपिल सीमितले त्यसको आठ दिनपछि मात्रै अनुशासन समितिमा छानबिन गर्न पत्र पठाएको थियो। त्यसमा सिइओ तुलाधरको हस्ताक्षर थियो। दुई महिना १४ दिनको प्रतियोगिता अवधि रहेकोमा प्रतियोगिता समितिले नै गर्न सक्ने सामान्य विषयलाई करिब २९ दिन पछाडि वैशाख १ गते मात्र अनुशासन समितिको कारबाहीको निर्णय आएको अध्यक्ष भण्डारी बताउँछन्। यसमा आपत्कालीन न्यायको मर्म र भावना मै नियतवश प्रहार गरेको उनको आरोप छ।
‘सरस्वती क्लबले खेलाडी दर्ता गर्नुपर्ने सबै प्रक्रिया पार गरी, सबै कागजात रुजु गरी एन्फाले स्वीकृत गरेपछि मात्र खेलाडी खेल्नको लागी योग्य भई २ वटा खेल खेलाइएको हो,’ उनी भन्छन्,‘खेलाडीलाई कोही कसैले आधारहीन प्रमाण पे; गरेको भरमा निलम्बन गरेको हुँदा न्याय पाउने आशासहित हामी अदालत गएका हौं।’