गोरखा। जि एन्ड ए एकेडेमी १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्लेट च्याम्पियन भएको छ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा आइतबार सम्पन्न प्लेट फाइनलमा जि एन्ड एले द ओल्ड क्यापिटल माविलाई २–० ले पराजित गरेको हो। टोलीलाई च्याम्पियन बनाउन प्रनभभक्त अधिकारी र इमोच्छा राईले समान एक गोल गरे।
प्रतियोगिताको ब्वाइजतर्फको फाइनलमा भने नारायणी फुटबल क्लब, नारायणगढ र नव जागृति भेट्रान्स क्लब भिड्ने भएका छन्।नारायणगढले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो। पहिलो सेमिफाइनलमा नारायणगढले कटारी टाइगर फुटबल क्लबलाई ३–१ ले पराजित गर्यो। टोलीको जितमा सज्जन कार्कीले दुई र रिजन घालेले एक गोल गरे।
दोस्रो सेमिफाइनलमा नव जागृतिले थ्री स्टार क्लबलाई २–१ ले पाखा लगाउँदै उपाधिनजिक पुग्न सफल भयो। टोलीको जितमा शैफुला मियाले एक गोल गरे। एक गोल भने थ्री स्टार अभिषेक राईले उपहार दिए। यस्तै, दीप्सन लिम्बूले गरेको गोल थ्री स्टारका लागि सान्त्वना बन्यो।
गर्ल्सतर्फ हिल्ली फिल्डर्स गोरखा एफसी र एम्बेसडर उपाधिका लागि भिड्ने भएका छन्। हिल्ली र एम्बेसडर दुवैले रत्न प्रियालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्।