गोरखा। नारायणगढ फुटबल क्लबले १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा दोहोरो जित निकालेको छ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नारायणगढले पहिलो दिन घोडाघोडी फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र क्लबलाई पराजित गरेको हो।
पहिलो खेलमा नारायणगढले घोडाघोडीलाई ३–१ ले पाखा लगायो। नारायणगढको जितमा रिजन घलेले दुई र साजन कार्कीले एक गोल गरे। घोडाघोडीका विकाश मल्लले गरेको गोल सन्त्वना रह्यो। अर्को खेलमा नारायणगढले सामाज कल्याणलाई ४–० ले हरायो। टोलीको जितमा मनोज न्यौपानेले दुई तथा अनिलबहादुर थापा र साजनले समान एक गोल गरे।
अन्य खेलमा थ्री स्टारले जि एन्ड ए एकेडेमीलाई ४–० ले पराजित गर्यो। थ्री स्टारलाई एकपक्षीय जित दिलाउन सितल राईले ह्याट्रिक गर्दा अभिषेक राईले एक गोल थपे।
अन्य खेलमा हिल्ली फिल्डर्स गोरखा एफसीले समाज कल्याणलाई ६–०, नव जनजागृती क्लबले पटिहानी फुटबल क्लबलाई २–०, द ओल्ड क्यापिटल माविले आयोजक द ओसन क्लबलाई ३–१, कटारी टाइगर फुटबल क्लबले श्री लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ९–० र घोडाघोडीले हिल्लीलाई ४–० ले पराजित गर्यो।