पथरी। बाघचाल खेल कस्तो हुन्छ र कसरी खेलिन्छ भन्ने एकादेशका कथा जस्तै भइसक्यो। डन्डी बियो कसरी खेलिन्छ र यस खेलका नियम के के हुन भन्ने कुरा नि अहिलेका पुस्ताका धेरैले जानेकै छैनन्।
यी नै रैथाने खेलमध्येको डन्डि बियो नेपालको राष्ट्रिय खेल थियो भन्ने कुरा सामान्य ज्ञानमा मात्रै सीमित भयो। डन्डी बियो अहिले नयाँ पुस्ता माझ हराइसक्यो। बाबुबाजेले खेलेको भाले जुधाइदेखि लट्ठा तान्ने खेल लोपोन्मुख हुन थालेपछि यसको संरक्षणमा मोरङको पथरीशनिश्चरे ३ नम्वर वडा लागेको छ।
नयाँ वर्षको अवसर पारेर वडाले एक दिने खेलकुद महोत्सव आयोजना गर्न लागेको छ। सो खेलकुद महोत्सवमा रैथाने खेललाई प्रतिस्पर्धाका रूपमा समेट्न लागेको हो।
रैथाने खेलको संरक्षणमा लागेको वडाले खेलको साझेदार भने स्थानीय सिरीजंघा स्पोटिङ्ग क्लब फुटबललाई बनाएको छ। सिरीजंघा कोसी प्रदेशमै चर्चित क्लब हो। सधैं फुटबल प्रतियोगिता आयोजना गर्ने र प्रदेशका विभिन्न स्थानमा फुटबल प्रतिस्पर्धा गर्न पुग्ने क्लबले यसपल्ट वडासँग साझेदार बनेर खेल महोत्सव गर्न लागेको छ। क्लबका अध्यक्ष मौसम लिम्बूका अनुसार रैथाने खेल बचाउन खेलकुद महोत्सव गर्न लागिएको हो ।
येले मेला लाग्ने मैदानमा खेलकुद महोत्सव सञ्चालन हुने भएको छ। चैत्र ३१ गते एक दिन सो महोत्सव आयोजना हुनेछ। महोत्सवमा फुटबल, कराते, भाले जुधाइ, बाघचाल, डन्डि बियो, लठ्ठातान, म्युजिकल चियर प्रतियोगिताका रूपमा सञ्चालन हुने भएको छ।
यस्ता खेलकुद प्रतियोगिताले रैथाने खेलप्रति नयाँ पुस्ताको अभिरुचि बढ्ने र ती खेलको संरक्षण हुने वडा अध्यक्ष विजय लिम्बूको भनाइ छ। नयाँ पुस्तामा मोबाइल तथा अनलाइन खेलको कारण विभिन्न शारीरिक समस्या देखिएकाले पनि वडाले रैथाने खेलको लागि विशेष पहल थालेको लिम्बूले जानकारी दिए।