काठमाडौं। डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गरेका छन्।
च्यासल खेल मैदानमा भएको उद्घघाटन खेलमा गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई निकै प्रतिस्पर्धात्मक खेलमा १४–१२ स्कोरले पराजित गर्यो। त्यसैगरी, विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हराउन सफल भयो।
गोर्खाली र एपिएफबीचको खेल हेर्नलायकको थियो। गोर्खालीले सुरुदेखि नै विपक्षीविरुद्ध दबाब बनाएको थियो। पहिलो हाफमा ७–० अग्रता लिँदै एपिएफले विपक्षीविरुद्ध दरिलो चुनौती पेस गरेको थियो। दोस्रो हाफको सुरुआतमा अर्को ट्राई गरेपछि खेल एपिएफको पक्षमा १२–० को स्थितिमा पुगेको थियो।
दबाबको यो बेला गोर्खालीलाई खेलमा फर्किन गाहो भइसकेको थियो। तर, एक ट्राइ र एक कन्भर्जन सफल पार्दै गोर्खालीले खेलमा फर्किन प्रयास गर्यो। खेल सकिँनै लागेको बेला यदु अधिकारीले अर्को ट्राई हान्नुका साथ कन्भर्जन पनि सफल बनाउँदा गोर्खालीले १४ अंक जोड्यो।
एकाएक खेलको नतिजा उल्टिन पुगेपछि विपक्षीले फाउल खेलेको भन्दै एपिएफका खेलाडीले असन्तुष्टि जनाएर मैदान छोडेका थिए। लामो समयपछि पनि एपिएफ मैदानमा नफर्किएपछि रेफ्रीले गोर्खालीलाई विजयी घोषित गरेका हुन्।
अर्को खेलमा तीन पटकका च्याम्पियन आर्मीले पुलिसविरुद्ध सहज जित हात पार्यो। खेलको सुरुआतदेखि नै विपक्षीविरुद्ध स्कोर जोड्न थालेको आर्मी पहिलो हाफमा २२–० को सहज स्थितिमा पुगेको थियो।
दोस्रो हाफमा आर्मीले थप २७ अंक जोड्न सफल भयो।पुलिसले भने पेनाल्टीबाट तीन अंक सान्त्वनास्वरुप जोड्न सफल भयो।