काठमाडौं। नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते दोस्रो संस्करणको पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ।
पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा दौड प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा पुरुष/महिला खुला १० किमी र पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रातर्फ ५ किमी दुरीमा दौड हुनेछ।
खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेता खेलाडीले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार पाउनेछन्। ५ किमी दुरीको छात्रछात्रा दौडतर्फ विजेता हुनेले ११ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभन्ज्याङ आएर सकिनेछ।
गत वर्ष फागुन ५ मा भएको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन बनेका थिए। महिला ११ किमि दूरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्ड र पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका थिए। पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या–१ की सविना राईले ३४ मिनेट १३ सेकेन्डबाट छात्रातर्फ र किरण तामाङले २३ मिनेट १३ सेकेन्डबाट छात्रतर्फ उपाधि जितेका थिए।
नेपालका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो। उक्त प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोग रहेको थियो। २०६६ मा स्थापित पञ्चकन्या जनकल्याण युवा समाजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृतिलगायत क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।