काठमाडौं। युकेमा बसोबास गरिरहेका नेपाली बडिबिल्डर उमेश राई १७औं धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल फर्किएका छन्।
उनले बडिबिल्डिङ क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा थुप्रै सफलता हासिल गरेका छन्। उमेशले सन् २०१६ मा १४औं धर्मश्री प्रतियोगिताबाट तेस्रो स्थान हासिल गरेका थिए। त्यसपछि सन् २०१८ मा उनले दोस्रो मिस्टर एभरेस्टको उपाधि जिते। त्यही वर्षको नोभेम्बरमा पहिलो दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको विजेता बनेका थिए।
सन् २०१९ मा उनले कुवेत क्लासिकमा पाँचौं स्थान प्राप्त गरे भने मे ४ मा सातौं मिस्टर हिमालयनको उपाधि जितेर आफ्नो क्षमता फेरि प्रमाणित गरेका थिए। सन् २०२० मा तेस्रो नेपाल राष्ट्रिय च्याम्पियनसिपको विजेता बनेर उनले देशभित्र आफ्नो वर्चस्व कायम राखे।
त्यसैगरी, सन् २०२२ मा १६औं मिस्टर धर्मश्रीको उपाधि जितेका उमेशले त्यही वर्षको जुलाई २० मा एसियाली बडिबिल्डिङ च्याम्पियनसिपमा रजत पदक हासिल गरेका थिए।
यी सबै उपलब्धिसहित उमेश अब २०२५ को धर्मश्री च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छन्। नेपालको यो प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन पाउँदा उनी निकै उत्साहित छन्।