काठमाडौं। विभागीय टोली एपिएफले आइतबार २०औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २८–२२ ले पराजित गरेको हो।
उपाधिसँगै एपिएफले दुई लाख रुपैयाँ हात पार्यो। आर्मीले भने एक लाख रुपैयाँमा चित्त बुझायो।
अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तेस्रो भए। यी दुई टोलीले ५०/५० हजार रुपैयाँ हात पारे।
प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेइडर र एपिएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित भए।
दुवैले ४० इन्चको टिभी पुरस्कार पाए। तीनदिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी थिए।