काठमाडौं। चेसमा नयाँ प्रयोगको रूपमा नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ। हिमालयन चेस एकेडेमीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को रूपमा चैत १ गते आयोजना गर्न लागेको हो।
एकेडेमीको वार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूले बताइन्। पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासस्वरूप फ्रिस्टाइल चेस सुरु गरेका थिए।
यसैको प्रतियोगिता आयोजना गर्दै हिमालयन चेस एकेडेमीले नेपालमा फ्रिस्टाइल चेसलाई भित्र्याउने पहल गरेको हो। ‘परम्परागत चेस जेन जी (नयाँ पुस्ता) का लागि खासै रोचक भएन। सिद्धान्तअनुसार खेलिने चेसलाई नयाँपन दिँदै फ्रिस्टाइल चेसले रोचक बनाएको छ। त्यसैले हामीले पहिलोपल्ट नेपालमा फ्रिस्टाइल चेसको प्रतियोगिता आयोजना गर्न लागिएको हो।’
च्याम्पियनसिपका चिफ आर्बिटर याइशाष यासिर खम्बूकाअनुसार फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा सञ्चालन गरिनेछ। सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी समूह चरणका खेल एकेडेमीको थापाथलीस्थित चेस हलमा गरिनेछ।
समूह विजेता चार खेलाडी फाइनल्समा प्रवेश गर्नेछन्। उनीहरूले नकआउटको आधारमा चैत १ गते हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
ब्लिज कपमा १६ स्पर्धा
एकेडेमीले आफ्नो वार्षिकोत्सव चैत १ गते शुक्रबार एकैसाथ दुई प्रतियोगिता आयोजना गर्दैछ। फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो। फ्रिस्टाइलको शीर्ष चारमा स्थान बनाउन असफल खेलाडीसँगै अरू चेस खेलाडीले स्विस प्रणालीको आधारमा हुने एक दिने ब्लिज कप खेल्नेछन्।
पुरस्कार एक लाख २५ हजार
दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपैयाँ रहेको छ। फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले नौ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने दुई खेलाडीले जनही ६ हजार चार सय पाउनेछन्।
१६ स्पर्धा समावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार प्राप्त गर्नेछन्। ब्लिज कपमा शीर्ष १०, महिलासँगै गर्ल्स र ब्वाइजका यु ८, यु १०, यु १२, यु १४, यु १६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्।
एक वर्षमा सात प्रतियोगिता
एकेडेमीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि उसले एसइई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप र हिमालयन डुओ गरी पाँच प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो।
बौद्धिक खेलको रूपमा परिचित चेसलाई नेपालमा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी पाँच वटा कोर्समा एक सय बढीलाई काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हलमा नियमित ट्रेनिङ दिइरहेको छ।
एकेडेमीले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ। भर्चुअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ। प्रत्येक बुधवार महिलालाई निःशुल्क प्रशिक्षण दिइरहेको छ। स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।