काठमाडौं। एनसिसी जुनियर चेकमेट चेस प्रतियोगितामा मंगलबार सर्वाधिक ४९ अंक जोड्दै अन्नपूर्ण सेकेन्डरी स्कुल च्याम्पियन भएको छ।
विभिन्न चार स्पर्धाका शीर्ष १० खेलाडीलाई प्रदान गरिएको अंकअनुसार अन्नपूर्ण च्याम्पियन भएको हो। उसका नौ खेलाडी शीर्ष १० मा रहे। १० खेलाडी शीर्ष १० मा रहे पनि सिद्धार्थ वनस्थली इन्स्टिच्युट ४४ अंकमा सीमित भएपछि उपविजेतामा सीमित भयो। निसर्ग बाटिका २८ अंकसहित तेस्रो स्थानमा रह्यो।
नेपाल चेम्बर अफ कमर्स (एनसिसी) को एडुकेसन एन्ड स्पोर्ट्स कमिटीद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुई दिने प्रतियोगिताका चार स्पर्धामा काठमाडौं उपत्यकाका २४ स्कुलका १०१ जना विद्यार्थी सहभागी थिए।
कक्षा ६ देखि आठसम्मको स्पर्धामा गर्ल्सतर्फ मार्भलस इङ्लिस बोर्डिङ स्कुलकी निहाना श्रेष्ठ च्याम्पियन भइन्। अन्नपूर्णकी ओजस्वी श्रेष्ठ दोस्रो तथा डिभाइन स्कुलकी जेनिशा न्यौपानेले तेस्रो भए।
ब्वाइजतर्फ निसर्ग बाटिकाका सात्विकमान तुलाधर प्रथम, सोही स्कुलका आयन जोशी दोस्रो र एसियन पब्लिक स्कुलका दिपन मैनाली तेस्रो भए। शतप्रतिशत जित हात पारेका निहाना र सात्विक हिमालयन चेस एकेडेमीका खेलाडी हुन्।
गर्ल्स कक्षा तीनदेखि पाँचसम्मको स्पर्धामा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ पहिलो, सिद्धार्थ वनस्थलीकी शुभानी राना दोस्रो र अन्नपूर्णकी टिस्टिना बस्नेत तेस्रो भए। ब्वाइजतर्फ अन्नपूर्णका युनिश खड्का पहिलो, संस्कृति इन्टरनेनल स्कुलका सम्भव थुलुङ दोस्रो र ग्रिनल्यान्ड स्कुलका सुलभ पन्थी तेस्रो स्थानमा रहे।
स्वीस प्रणालीको आधारमा ब्वाइजको ६ राउन्ड र गर्ल्सको चार राउन्ड खेल सञ्चालन गरिएको थियो। एनसिसीका अध्यक्ष कमलेश अग्रवाल र एनसिसी एडुकेसन एन्ड स्पोर्टस् कमिटीका प्रमुख रूपक राजवंशीले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
कलिलै उमेरमा बालबालिकामा आलोचनात्मक सोचाई, समस्या समाधान गर्ने कौशल र धैर्यताको विकासको लागि बौद्धिक खेलको रूपमा चेसलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको एनसिसीले जनाएको छ।