काठमाडौं। एएफसी एसियन कप २०२७ को छनोट चैत २५ गतेदेखि सुरु हुँदैछ।
पहिलो लेग खेल घरेलु मैदानमा खेल्नुपर्ने भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)को उदासीनताका कारण मलेसियामा पुगेर नेपाल प्रतिस्पर्धा गर्न बाध्य छ।
विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली टोलीका लागि यो खेल चुनौतीपूर्ण हुनेछ। तर, महत्त्वपूर्ण खेल नजिकिँदै गर्दा पनि एन्फाको तयारी भने शून्य प्रायः छ।
छनोटको पहिलो चरणको खेलका लागि अब जम्मा २४ दिन मात्र बाँकी छ। सामान्यतया यस्तो उच्चस्तरीय प्रतियोगिताका लागि टोलीले लामो समयदेखि तयारी गरिरहेको हुनुपर्ने हो।
तर, नेपाली फुटबल प्रशासकीय निकाय एन्फाको लापरबाहीका कारण राष्ट्रिय टोलीको तयारी अझैसम्म औपचारिक रूपमा सुरु भएको छैन। एन्फाले न त मुख्य प्रशिक्षक नियुक्त गरेको छ, न त बन्द प्रशिक्षण सुरु गर्ने तयारी नै गरेको छ।
एन्फाका प्रवक्ता सुरेश शाह भन्छन्, ‘हामी अन्तर्राष्ट्रिय अभ्यासकै अनुसरण गरिरहेका छौं। बन्द प्रशिक्षण बोलाउन ढिलो भएको छैन, छिट्टै बोलाउनेछौं।’
नेपालले पछिल्लो पटक विश्वकप/एसियन कप छनोटको अन्तिम खेल गत वर्ष जुनमा यमनविरुद्ध खेलेको थियो। उक्त खेल २–२ को बराबरीमा टुंगिएको थियो। त्यस खेलपछि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण गर्न एन्फाले चासो देखाएन। त्यसयता मुख्य प्रशिक्षक पद रिक्त छ।
एन्फाले प्रशिक्षक नियुक्त गर्न नोभेम्बरमा आवेदन खुला गरेको थियो। तर, अझैसम्म कुनै निश्चित निर्णय भएको छैन। गत नोभेम्बरमै ताजिकिस्तानमा आयोजना भएको मैत्रीपूर्ण खेलमा ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि २–० को जित निकाल्न सफल भएको थियो।
उक्त खेलका लागि नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो। तर, त्यसयता नेपाली राष्ट्रिय टोली कुनै औपचारिक खेलमा सहभागी नभएको पनि साढे तीन महिना बितिसकेको छ।
त्यसैले खेलाडीहरू जोखिम मोलेर विभिन्न गोल्डकप खेल्न बाध्य छन्। एएफसी एसियन कपजस्तो ठूलो प्रतियोगिता अगाडि यी खेलाडीलाई सुरक्षित राख्नुपर्ने हो।
सँगै राखेर प्रशिक्षण गराउनुपर्ने हो। ठूला टिमसँग जित निकाल्न ‘मेन्टालिटी’ तयार बनाउनुपर्ने हो। अझ रणनीति निर्माणमा काम गर्नुपर्ने हो। तर, एन्फाले यस्ता कुरामा चासो दिनै भ्याएको छैन।
अझ कतिसम्म भने खेलाडी संयमलाई प्रशिक्षण कहिलेदेखि सुरु हुन्छ अत्तोपत्तो छैन। यो अवस्थाले टोलीको समग्र तयारीलाई प्रभावित बनाउने निश्चित छ।
हाल अस्ट्रेलियाका प्रशिक्षक म्याट रसलाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनाउन लागिएको चर्चा छ। उनी डेढ महिनादेखि काठमाडौंको कोटेश्वरको होटेल बसिरहेका छन्। यद्यपि, उनको नियुक्तिको औपचारिक घोषणा हुन पनि अझै बाँकी नै छ।
एन्फाले कुनै पनि फुटबल गतिविधि सञ्चालन गर्न नसक्दा उनले अहिलेसम्म राष्ट्रिय टोलीका खेलाडीहरूको खेल प्रत्यक्ष रूपमा हेर्न पाएका छैनन्। युवा खेलाडीहरूको छनोट प्रक्रियामा समेत उनी सहभागी हुन पाएका छैनन्।
प्रशिक्षक रसले अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पदाधिकारीसँग भेटघाट गर्दैमा समय बिताइरहेका छन्। उनको प्रशिक्षकीय अनुभवलाई नेपाली टोलीको वर्तमान अवस्थासँग अनुकूल बनाउने वातावरण निर्माण गर्न एन्फाले कुनै विशेष प्रयास गरेको देखिँदैन।
तर, प्रवक्ता शाह भने केही पोजिसन मात्रै ‘ग्याप’ भएको र अन्य खेलाडीले निरन्तर खेलिरहेको कारण आत्तिन नपर्ने दाबी गर्छन्। ‘रस नै मुख्य प्रशिक्षक हो। घोषणा हुन बाँकी भए पनि खेल हेरिरहेका छन्। हाम्रा खेलाडी पनि खेलविहीन छैनन्, गोल्डकप खेलिरहेका छन्,’ उनी भन्छन्, ‘अझ कतिपय खेलाडी सँगै टिमबाट खेलिरहेका छन्। तालमेल मिलाउन समस्या छैन। बाँकी रहेको ग्याप तीन हप्ताको समयमा बन्द प्रशिक्षणबाट भरिन्छ।’
नेपाली युवा टोलीले गत फागुन ३ गते दशरथ रंगशालमा चीनको चीनको युनान युथ फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो। उक्त खेलबाट केही युवा खेलाडीलाई राष्ट्रिय टोलीमा उकाल्ने योजना एन्फाको रहेको प्रशिक्षक राजेश शाहीले सुनाएका थिए।
तर, उक्त खेलपश्चात् युवा खेलाडीले बर्सोदेखि खेलिरहेका खेलाडीसँग सँगै खेल्ने अवसर पाएका छैनन्। त्यसमाथि आफ्नो स्तर प्रशिक्षक रसलाई यी खेलाडीको विगतका खेलबारे अनविज्ञ छन्।
यी खेलाडीले पनि आफ्नो क्षमता देखाउने मौका पाएका छैन। त्यसैले राष्ट्रिय टोली भताभुङ्ङ हुने स्थितिमा छ। अब पनि एन्फाले बेलैमा नसोचे त्यसको प्रत्यक्ष असर नतिजामा पर्नसक्ने देखिन्छ।