काठमाडौं। गोकर्णेश्वर नगरपालिका मेयर कप खुला क्लासिकल चेस प्रतियोगिताको छैटौं चरणमा शुक्रबार पुरुषोत्तम सिलवालले एफएम क्षितिज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडेका छन्।
कुल दुई लाख रुपैयाँ पुरस्कारको प्रतियोगितामा सुरुआती चार खेल जितेका पुरुषोत्तम लगातार दुई बराबरीपछि पनि शीर्षस्थानमा यथावत् छन्। उनले ६ खेलबाट ५ अंक जोडेका छन्।
सीएम कृष्ण थापा, राजीव कार्की, सीएम सजिन महर्जन, भारतका कुमार आशुतोष, इकबाल माज र सिद्धिकी अर्मानले पनि समान ५ अंक जोडेका छन्। तर, टाइब्रेकको आधारमा पुरुषोत्तम शीर्षस्थानमा छन्। क्षितिज, सीएम पुरुषोत्तम चौलागाईं र एक्समार्सल एचसीले समान ४.५ अंक बनाएका छन्।
आयोजक माउन्ट एभरेस्ट एन्ड सोसियल क्लबका चौलागाईं र एक्समार्सल छैटौं चरणमा भिडेका थिए। यो खेल पनि जितविहीन टुंगियो र दुवैले अंक बाँडे। त्यस्तै, १९ खेलाडीले ४ अंक बटुलेका छन्।
यसमा राजन पुरी, सुरोज महर्जन, वैष्णवी प्रकाश, सीएम नवीन तण्डुकर, शैलेन्द्र न्यौपाने, राहुल चाउ प्रधान, त्रिपाठी प्रखर, सुमन मोक्तान, सुरेन्द्र लामा, कवीन्द्र सिवाकोटी, आशिष् फुयाँल, प्रयास कोइराला, राजेन्द्रप्रसाद श्रेष्ठ, बिजेश राजकर्णिकार, सीएम भगवतीप्रसाद शर्मा, जेनिश तामाङ, हर्खबहादुर चोङबाङ, सुशील सुवेदी र देव तामाङ छन्।