चितवन। प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा प्रवेश गरेका छन्।
भरतपुरको कृष्णपुर खेल मैदानमा शुक्रबार भएको लिग चरणको खेलपछि लुम्बिनी प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेश लिग चरणबाटै बाहिरिए। कुल ७ टोलीबीच दुई समूहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा समूह ए बाट आयोजक गोर्खाली र कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गर्यो।
गोर्खा रग्बीले लिगको दुवै खेल जित्यो र समूह विजेता बन्यो। गोर्खालीले गण्डकी प्रदेशलाई २२-० ले तथा कर्णाली प्रदेशलाई २२-७ स्कोरले पराजित गरेको थियो। कर्णालीले भने गण्डकी प्रदेशलाई २६-५ स्कोरले पराजित गरी समूह उपविजेता बनेको हो।
यस्तै, समूह बी मा त्रिभुवन आर्मी क्लबले लिगको तीन वटै खेल जित्दै समूह विजेता बन्न सफल भयो। टोलीले एपिएफलाई ३४– ५ स्कोरले, लुम्बिनी प्रदेशलाई एकोहोरो खेलमा ४३-० ले तथा मधेस प्रदेशलाई पनि ४३-० स्कोरले पराजित गरेको थियो।
समूह उपविजेता बनेको एपिएफले भने मधेस प्रदेशलाई २४-५ ले तथा लुम्बिनी प्रदेशलाई ४५-० ले पराजित गरेर उपविजेता बन्यो। मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई २४-७ ले पराजित गर्दा लुम्बिनीले भने लिगको तीन वटै खेल गुमाएको थियो।
अब शनिबार हुने सेमिफाइनलमा गोर्खाली रग्बीले एपिएफसँग र त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ। शनिबार नै उपाधि भिडन्त हुनेछ। गोर्खा रग्बी क्लबले आयोजना गरेको यो पहिलो रग्बी सेभेन्स प्रतियोगिता हो।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख तथा दोस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछ। नेपाली रग्बी प्रतियोगितामा राखिएको यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो।