काठमाडौं। हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन डुओ’ र्यापिड चेस प्रतियोगिताको उपाधि नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले जितेका छन्।
उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जाड्दै सफलता हात पारेका हुन्।
व्यक्तिगत खेल भएपनि चेसमा सामूहहिक भावना बलियो बनाउन आयोजित एक दिने प्रतियोगितामा प्रवीर केसी र अनमोल राईको टिम गोथम नाइट्स ७ अंकसहित दोस्रोमा रह्यो।
यसमा प्रवीरले ४ खेल जिते भने अनमोलले ३ खेलमा सफलता हात पारे। स्वीस प्रणालीअुसार ५ राउन्डमा सञ्चालित प्रतियोगितामा समय १० मिनेटसँगै १० सेकेन्ड इन्क्रिमेन्ट तोकिएको थियो।
उपकार मार्ग, थापाथलीस्थित एकेडेमीको चेस हलमा नाइट्स ग्याम्बिट ६ अंकसहित तेस्रो भयो। यो टिमका लियोन महर्जन र शुभ तुलस्यानले समान ३ खेलमा जित हात पारे। सिद्धार्थ जेसी श्रेष्ठ र युग युसी श्रेष्ठको टिम फायर एन्ड आइसले बेस्ट नेम अवार्ड जित्यो।
प्रतियोगितामा १६ टिम सहभागि थिए। प्रत्येक जितमा २ अंक, बराबरीमा १ अंक दिइएको थियो भने हारमा कुनै अंक थिएन।
एक रेटेड र एक अनरेटेड खेलाडीको टिम बनाइएको हिमालयन डुओमा उपाधि विजेता नाइटमेर कजिन्सले ५ हजार, उपविजेता गोथम नाइट्सले ३ हजार र तेस्रो भएको नाइट्स ग्याम्बिटले २ हजार रुपियाँ ट्रफी तथा मेडल प्राप्त गरे।
प्रथम राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता विकासमान लामा, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, माइस इन्टरनेसनलका सीओओ सिलु श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोलालिशा खम्बूले पुरस्कार वितरण गरेका थिए।
गत वर्ष चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गरेको पाँचौ प्रतियोगिता हो हिमालयन डुओ। उसले यसअघि एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी र प्यट्रिओटिक पन च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो।
१ सय बढीलाई नियमित चेस ट्रेनिङ दिइरहेउको एकेडेमीले स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।