काठमाडौं। होरा ई–स्पोर्ट्सले ईशान दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ। शनिवार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको छ।
च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्यो। टि टु के ले १२१ अंक जोडेको थियो। यस्तै दाई ई–स्पोर्ट्स तेस्रो, होइन इ स्पोट्र्स चौथो र डिआरएस गेमिङ पाँचौं भयो।
कूल प्राइज राशि २५ लाख रहेको प्रतियोगितामा पब्जीतर्फ सबैभन्दा धेरै १० लाख १० हजार पुरस्कार राखिएको थियो। जसमा विजेता होरा ई–स्पोर्ट्सले नगद २ लाख ५० हजार र ट्रफी प्राप्त गर्यो। यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई ई–स्पोर्ट्सले १ लाख २० हजार पायो।
यस्तै रोयल ड्रागन इस्पोर्ट छैटौं, जुट्टी ई–स्पोर्ट्स सातौं, फोर डेथ मेसिन आठौं, नेप्क्स नवौँ र सोल्टी स्क्वाड दशौँ भए। अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए। होरा ई–स्पोर्ट्सका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।
यस्तै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो। फाइनल चरणमा प्रतिस्पर्धा गरेका हुमिङ बर्डलाई पराजित गर्दै औरा च्याम्पियन बनेको हो। मोबाइल लेजेण्ड्सको विजेता औराले १ लाख ८२ हजार र ट्रफी प्राप्त गर्यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार पायो।
ला फिएर्टे तेस्रो, ट्रस्ट दि प्रोसेस चौथो, एलिसिउम पाँचौँ, हार्बिनगर्स छैटौं, आरएसजी कोज्जा ई–स्पोर्ट्स सातौं र डाँफे इस्पोर्ट आठौं भयो। यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे। एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।
यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो। च्याम्पियन कीर्तिपुरले नगद १ लाख ५ हजार र ट्रफी प्राप्त गर्यो। डोटा टु मा स्नेक दोस्रो र एभेन्जर्स तेस्रो भयो। डोटा टु मा तेनजिकु ग्याङ चौथो, वन लास्ट राइड पाँचौँ, केइकेडब्लु छैटौं, ढेडुस सातौं र राजेस हमाल इज ब्याक आठौं भयो।
भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो। च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त गर्यो। भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो। भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे। भालोरेन्टमा कृउ एक्स चौथो, ओल्ड जिन्स पाँचौँ, ब्रिटिस कलेज छैटौं, कपिलवस्तु सातौं र बत्ती बल्यो आठौं भयो।
डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। इ फुटबलको उपाधि हृजवान श्रेष्ठले जिते। उनले नगद ९० हजार पुरस्कार र ट्रफी प्राप्त गरे। यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धि बहादुर भट्टराई तेस्रो तथा सन्दिप गोले तामाङ चौथो भए। कस प्लेमा रिमा बिशान्की पहिलो भइन् भने गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र ईशान श्रेष्ठ पाँचौँ भए।
इ स्पोट्र्स संघ नेपाल (ईशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा फागुन ८ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इ स्पोट्र्स नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो। अन्तिम चरणमा पब्जीमा १६ टिम, ई–फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३–३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गरेका थिए।। यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाएका थिए। विजेतालाई पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद माधव सापकोटा, राखेप पूर्व उपाध्यक्ष शिव कोईराला, ईशान अध्यक्ष अन्जन धमला लगायतले पुरस्कृत गरेका थिए।