काठमाडौं। हिमालयन चेस एकेडेमीले व्यक्तिगत खेलमा पनि टिम भावना बढाउने उद्देश्यले ‘हिमालयन डुओ’ र्यापिड चेस आइतबार आयोजना गर्ने भएको छ।
एकेडेमीको थापालीस्थित चेस हलमा सञ्चालन हुने प्रतियोगितामा दुई खेलाडी समावेश एक टिममा एक रेटेड र एक अनरेटेड खेलाडी हुनुपर्ने प्रावधान छ।
परिवारका सदस्य, नातेदार, साथीभाइ, क्लासमेट, गुरु–चेलाको टिमले प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। स्वीस प्रणालीअनुसार ५ राउन्डमा सञ्चालन हुने एक दिने प्रतियोगितामा समय १० मिनेटसँगै १० सेकेन्ड इन्क्रिमेन्ट तोकिएको छ।
हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बू भन्छिन्, ‘जुनसुकै उमेरकाले खेल्न सक्ने चेस व्यक्तिगत खेल हो। तर, मानिसलाई जीवन सहज र राम्रो बनाउनका लागि सामूहिक भावना आवश्यक हुन्छ। त्यसैले चेसमा पनि टिम भावना बढाउने उद्देश्यले हिमालयन डुओ आयोजना गर्न लागिएको हो।’ नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी उनी नेपालकी पहिलो महिला राष्ट्रिय चेस च्याम्पियन हुन्।
प्रतियोगिता संयोजक प्रयुक्ता केसी भन्छिन्, ‘फेब्रुअरी इज द मन्थ अफ लभ तर मान्छेहरूले रोमान्टिक पार्टनरलाई मात्रै सेलेब्रेट गर्छ भने हामी परिवार, साथीभाइको लभलाई पनि सेलेब्रेट गर्न हिमालयन डुओ आयोजना गर्दैछौं। उनका अनुसार बढीमा १४ टिमलाई सहभागी गराइनेछ, जसमा आठ टिम दर्ता भइसकेका छन्। टिम दर्ताको लागि अन्तिम दिन शनिबार तोकिएको छ।
गत वर्ष स्थापित हिमालयन चेस एकेडेमीको पाँचौ प्रतियोगिता हो हिमालयन डुओ। उसले यसअघि एसइई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी र प्यट्रिओटिक पन च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरिसकेको छ।
एकेडेमीले १ सय बढीलाई चेसको नियमित ट्रेनिङ दिनुकासाथ स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।