काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघसम्बद्ध व्यक्तिहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड गरेका छन्।
यो उसु महासंघमा वीरबहादुर तामाङ अध्यक्ष र लाक्पाछिरिङ लामा महासचिव छन्। शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको नेपाल उसु महासंघले उक्त घटनाप्रति ध्यानाकर्षण रहेको उल्लेख गर्दै निन्दासमेत गरेको छ।
कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै तोडफोडमा सहभागी समूहको महासंघलाई २०८० भदौ १३ गते उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ।
कर्माचार्यको नेतृत्वमा रहेको महासंघले सरकारी सम्पती तोडफोड गर्नेहरूलाई कारबाही गर्न सरकारसमक्ष माग गरेको छ। राखेपले उक्त घटनामा संग्लनविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ।
बिहीबार मात्र राखेपले गरेको पत्रकार सम्मेलनमा नेपाल उसु महासंघबाट लाक्पाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो।
उनीहरूलाई तीन दिनभित्र सफाइ पेस गर्न राखेपले अवसर दिएको भोलिपल्ट नै लामासहितका टोलीले तोडफोड गरेको हो।