नौ स्वर्णसहित सुनसरी च्याम्पियन
२०२५ फेब्रुअरी २, आइतबारखेलपाटी संवाददाता

विराटनगर। सुनसरी जिल्लाले कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ।
प्रदेश खेलकुद विकास बोर्ड (कोशी प्रदेश) को संयोजन तथा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनमा शनिबार र आइतबार भएको प्रतिस्पर्धामा नौ स्वर्ण, दुई रजत र दुई कांस्यसहित कुल १३ पदक जित्दै सुनसरी पहिलो भएको हो।
यस्तै, ६ स्वर्ण, तीन रजत र पाँच कांस्यसहित कुल १४ पदक जितेको मोरङ दोस्रो भयो। चार स्वर्ण, पाँच रजत र ६ कांस्यसहित कुल १५ पदक जितेको झापा तेस्रो भयो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ मोरङका मन्जित राजवंशी र महिलातर्फ सुनसरीकी एलिजा राई घोषित भइन्।
शनिबारबाट विराटनगर ९ पुरानो गुद्रीमा सुरु भएको प्रतियोगिता कोशी प्रदेशका नौ जिल्लाका १३५ जना खेलाडीहरूको सहभागिता थियो।