काठमाडौं। बंगलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ। अखिल नेपाल कबड्डी संघले आइतबार १५ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ। टोलीको कप्तानी घनश्याम रोकामगरले नै गर्नेछन्।
टोलीमा नेपाल कबड्डी लिग (एनकेएल)मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले स्थान बनाएका छन्। घनश्यामसँगै रामु टमाटा पनि टोलीमा समेटिएका छन्।
रामुको कप्तानीमा रहेको जनकपुर नाइट्सले घनश्यामको कप्तानीमा रहेको काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै प्रथम संस्करणको उपाधि हात पारेको थियो। टोलीमा जनकपुरबाट अलराउन्डर रामुसँगै सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख टोलीमा सेमेटिएका छन्। सविन र नवीन अलराउन्डर हुन्। साहिल भने राइट कभर हुन्। उनी वैकल्पिक खेलाडीको सूचीमा छन्।
यस्तै, उपविजेता काठमान्डुबाट रेइडर घनश्यामसँगै सोहेल इस्लाम, मेघराज गिरि र प्रमोद श्रेष्ठ सेमिटिएका छन्। उनीहरूबाहेक गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा छन्। वैकल्पिकमा साहिलसहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी छन्।
महासचिव झाका अनुसार प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म बंगलादेशका विभिन्न सहरमा हुने तय छ। तर, खेल खेलाउने स्थान भने अझै टुंगो नलागेको उनले बताए। ‘हामीले खेल्ने पक्का भइसकेको हो। त्यसैले टोली निर्माण गर्न खेलाडी बोलाएका हौं। तर, खेल कहाँ खेलाउने अहिले टुंगो लागिसकेको छैन,’ उनले खेलपाटीसँग भने।