काठमाडौं। हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दिनको पहिलो खेलमा विराटनगरले हिमालयनलाई ३४–३० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा पक्का गरेको हो। योसँगै प्ले–अफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ।
काठमान्डु माभरिक्स र जनकपुर नाइट्स एक खेल अगाबै प्ले–अफमा पुगिसकेका छन्। अब एक टोलीले प्ले–अफमा स्थान बनाउने छन्। हिमालयनविरुद्ध रेडमा विराटनगरले १८, ट्याकलबाट आठ, दुई अलआउटबाट चार र बोनसबाट चार अंक जोडेको हो। हिमालयनले भने रेडबाट १४, ट्याकलबाट नौ, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक जोड्यो।
पहिलो हाफमा विराटनगरले तीन अंकको अग्रता लिँदै हिमालयनलाई दबाबमा राखेको थियो। त्यो अग्रता अन्तिमसम्म पनि कायम राख्दै विराटनगरले तेस्रो जित निकाल्न सफल भएको हो।
जनकपुर शतप्रतिशत जितसहित २० अंक जोडेर शीर्ष स्थानमा छ। काठमान्डु र विराटनरको समान १६ अंक छ। तेस्रो हार बेहोरेको हिमालयन चार खेलबाट ६ अंक बटुल्दै पाँचौं स्थानमा छ।
पहिलो हाफमा विराटनगरले रेडबाट १०, ट्याकलबाट दुई, एक अलआउटबाट दुई र बोनसबाट चार पोइन्ट जोडेको थियो। हिमालयनले भने रेडबाट १५, रेडबाट नौ, ट्याकलबाट तीन, एक अलआउटबाट दुई र बोनसबाट एक अंक मात्रै बटुल्न सक्यो।
योसँगै विराटनगरले १८–१५ को अग्रता लियो। दोस्रो हाफमा हिमालयनले विराटनगरलाई कडा टक्कार दिएको थियो। तर, अघिल्लो हाफमा लिएको तीन र यो हाफमा लिएको एक अंकको अग्रता विराटनगरलाई जिताउन महत्त्वपूर्ण सावित भयो। दोस्रो हाफमा १६ र हिमालयनले १५ पोइन्ट थप्यो।
रेडमा विराटनगरले आठ, ट्याकलमा ६, एक अलआउटमा दुई पोइन्ट बटुल्यो। हिमालयनले भने रेडमा पाँच, ट्याकलमा चार र बोनसबाट ६ पोइन्ट बटुले पनि जितमा पर्याप्त बन्न सकेन।