काठमाडौं। काठमान्डु माभरिक्स र जनकपुर नाइट्सले बिहीबार जित हासिल गर्दै नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफमा स्थान पक्का गरेका छन्।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दिनको पहिलो खेलमा काठमान्डुले धनगढी वाइल्डक्याट्सलाई ५१–३६ ले पराजित गर्दै प्ले–अफमा स्थान सुरक्षित गरेको हो। पहिलो हाफमा २७–१६ को अग्रता लिएको काठमान्डुले पूरा खेलमा धनगढीलाई दबाबमा राखेको थियो।
काठमान्डुले कप्तान घनश्याम रोका मगरको उत्कृष्ट प्रदर्शनसँगै दोस्रो हाफ पनि २४–२० ले आफ्नो पक्षमा पारेको थियो। एनकेएलको एउटै खेलमा ५० भन्दा बढी स्कोर गर्ने काठमान्डु एक्लो टिम हो र उसले दोस्रोपल्ट यो स्कोर छोएको हो।
त्यस्तै, दिनको दोस्रो खेलमा जनकपुरले पोखरा लेकर्समाथि ३६–२९ को जित रच्दै प्ले–अफको यात्रा निश्चित गर्यो। एनकेएलमा सबभन्दा राम्रो लयमा रहेको जनकपुरले लगातार चार खेल जितेर लिग चरणमा शीर्ष चारमा रहने पक्का गर्दै प्ले–अफमा स्थान बनाएको हो।
जनकपुरले दुवै हाफमा समान १८ स्कोर गरेको थियो भने खराब लयमा रहेको पोखराले पहिलो हाफमा १३ र दोस्रो हाफमा १६ स्कोर गरेको थियो। सहभागी ६ टिममध्ये जितविहीन एक्लो टिम पोखरा नै हो। र, लगातार चौथो हारसँगै पोखरा लिग चरणबाटै बाहिरिने लगभग पक्का भयो।
जनकपुर चार खेलमा शतप्रतिशत जितसहित २० अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ। तीन जित र एक हारको नतिजासहित १६ अंक बनाएको काठमान्डु दोस्रोमा छ। दुई जित र एक हारसँगै ११ अंकसहित विराटनगर ब्यान्डिट्स तेस्रो स्थानमा छ। एक जित र तीन हारमा ६ अंक बनाएको धनगढी चौथोमा छ। बुटवलको हिमालयन रेइडर्स (३ खेलमा ५ अंक) र पोखरा (४ खेलमा ४ अंक) पुछारका दुई स्थानमा छन्।