काठमाडौं। सशस्त्र प्रहरी बल (एपिएफ) ले एक प्रशिक्षक र १४ खेलाडीसहित १५ जनालाई विशेष बढुवा गरेको छ।
२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा एपिएफ नेपाल खेलकुद शारीरिक सुगठन शिक्षालयमा कार्यरत फुटबल तीन फुटबल खेलाडी र एक प्रशिक्षक तथा भलिबल, एथलेटिक्स र उसुका समान दुई तथा क्रिकेट, कराते, कबड्डी, ह्यान्डबल र फुल कन्ट्रयाक करातेका एक खेलाडी बढुवा भएका हुन्।
नेपाली राष्ट्रिय फुटबल टोलीकी सहायक प्रशिक्षकसमेत भइसकेकी भगवती थापा वरिष्ठ सहायक हवलदारमा बढुवा भएकी छन्। यस्तै, एपिएफकी कप्तान तथा राष्ट्रिय टोलीकी मिडिफल्डर अनिता केसी, डिफेन्डर गीता राना र मिडफिल्डर सरु लिम्बू सहायक हवल्दारमा बढुवा भएका हुन्।
यसै गरी एथलेटिक्सका गोपीचन्द्र पार्की र फुतमति रानालाई हवल्दारमा बढुवा भएका छन्। भलिबलका हीरा केसी, कविता भट्ट तथा उसुका अशोक खालिङ, कविता थापा सहायक हवल्दार बनेका छन्।
क्रिकेटका सन्दीप जोरा, करातेका मोहम्मद शेखु आलम, कबड्डीकी रविना चौधरी, ह्यान्डबलकी वन्दना राई र फुल कन्ट्रयाक करातेका सञ्जय राई सहायक हवल्दारमा बढुवा भए।
एपिएफ नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक (नेपाल एपिएफ क्लबका अध्यक्ष) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरेले बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।