काठमाडौं। रेड र ट्याकलमा उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौं माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा काठमाडौंले हिमालयन रेइडर्सलाई ५६–३४ ले पराजित गरेको हो। पहिलोपल्ट प्रतियोगितामा ५० पोइन्ट पार भएको हो।
काठमाडौंले टचबाट २७, ट्याकलबाट १५, अलआउटबाट आठ र बोनसबाट ६ पोइन्ट लिएको हो। हिमालयनले भने टचबाट १९, ट्याकलबाट तीन, अलआउटबाट दुई र बोनसबाट १० पोइन्ट लियो। जितसँगै काठमाडौंले तीन खेलबाट ११ अंक पुर्याएको छ। हिमालयन भने समान खेलबाट पाँच अंकसहित चौथो स्थानमा छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान घनश्याम रोकामगरको कप्तानीमा उत्रिएको काठमाडौंले खेलको सुरुआतदेखि नै हिमालयनमाथि दबाब दिएको थियो। फलत: पहिलो हाफमा काठमाडौंले ३६–१३ को फराकिलो अग्रता लियो। यसक्रममा टचमा १७, ट्याकलमा ११, अलआउ६मा ६ र बोनसबाट दुई अंक जोडेको थियो। हिमालयनले भने टचमा ६, ट्याकलमा एक र बोनसबाट ६ अंक जोड्यो। हिमालयन पहिलो हाफमै तीनपल्ट अलआउट भएको थियो।
दोस्रो हाफमा काठमाडौंले २० जोड्दा हिमालयनले २१ पोइन्ट मात्रै जोड्न सफल रह्यो। यसक्रममा काठमाडौं र हिमालयन समान एकपल्ट अलआउट भयो। यो हाफमा भने हिमालयनले टचबाट ११ र बोनसबाट ६ पोइन्ट ल्याएको थियो। तर, अघिल्लो हाफमै फराकिलो अन्तरले पछाडि रहँदा हिमलयन खेलमा फर्किन सकेन र दोस्रो हार बेहोर्न बाध्य भयो।