काठमाडौं। प्रथम खो खो विश्वकपमा उपविजेता हुँदै ऐतिहासिक सफलता चुमेको दुवै नेपाली टोली स्वदेश फर्किएका छन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न फाइनलमा नेपालको महिला र पुरुष दुवै टोली आयोजक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
महिला टोलीले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, उक्त यात्रामा ब्रेक लगाउँदै प्रियंका इङ्गलको कप्तानीमा रहेको भारतले ७८–४० को सानदार जितसहित भारतले उपाधि हात पार्यो
घरेलु टोलीले आक्रमण र रक्षा दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जितको कुनै मौका दिएन।
समूह चरणमा बंगलादेश, श्रीलंका, भुटान र जर्मनीलाई नेपालले पराजित गरेको थियो। सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले हराएर नेपालले भारतसँगको उपाधि भिडन्त पक्का गरेको थियो। तर, भारतसँगको खेलमा नेपालले आफ्नो अवसर गुमायो र विश्वकप जितेर इतिहास बनाउन चुक्यो।
पुरुषतर्फ भने नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो। नेपाल उद्घाटन खेलमै भारतसँग पराजित भएको थियो। त्यसको बदला लिने लक्ष्यसाथ मैदान उत्रिए पनि नेपाल सफल हुन सकेन।
सेमिफाइनलमा नेपालले इरानमाथि ७२–२० को सहज जित निकाल्यो। समूहचरणमा भारतसँग पराजित भएको नेपालले त्यसपछि पेरु, ब्राजिल र भुटानलाई हरायो। यसैगरी नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई पन्छाउँदै भारतसँग भेट पक्का गरेको थियो।