काठमाडाैं। नेपाल प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि उपविजेतामा सीमित भएकाे छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो।
नेपाल उद्घाटन खेलमै भारतसँग पराजित भएको थियो। त्यसको बदला लिने लक्ष्यसाथ मैदान उत्रिए पनि नेपाल सफल हुन सकेन र खेल गुमायाे।
दुवै टर्नमा अट्याकिङमा भारतले नेपालभन्दा धेरै अंक जोड्यो। पहिलो टर्नमा भारतले अट्याकिङबाट २६ अंक जोडेकाे थियाे। दोस्रो टर्नमा पनि २८ अंक जोड्यो। नेपालले भने दुवै टर्नमा समान १८ अंक जोड्न सक्याे।
पुरुषतर्फको सेमिफाइनलमा नेपालले इरानमाथि ७२–२० को सहज जित निकाल्यो। समूह चरणमा भारतसँग पराजित भएको नेपालले त्यसपछि पेरु, ब्राजिल र भुटानलाई हरायो। यसैगरी नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई पन्छाउँदै भारतसँगकाे भेट पक्का गरेकाे थियाे।