काठमाडौं। नेपालले प्रथम खो–खो विश्वकपको उपाधिका लागि आइतबार भारतसँग खेल्दैछ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुने खेलमा नेपालको महिला र पुरुष दुवै टोलीले उपाधिका लागि भारतसँग खेल्ने भएको हो।
महिला टोलीले साँझ ६:१५ बजे भारतसँग खेल्ने छ। पुरुष टोलीले भने ८ बजे भारतसँग खेल्ने छ। सेमिफाइनलमा महिलातर्फ नेपालले युगान्ड र पुरुषतर्फ इरानलाई पराजित गर्दै उपाधिनजिक पुगेको थियो। महिलातर्फ नेपाल अपराजित रहँदै फाइनलमा स्थान पक्का गरेको हो। यसक्रममा नेपालले सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पन्छायो।
नेपालले समूहचरणमा भुटान, जर्मनी, श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो। क्वार्टरफाइनलमा इरानलाई पराजित गर्दै नेपालले युगान्डासँगको भेट पक्का गरेको थियो।
यता, पुरुषतर्फको सेमिफाइनलमा नेपालले इरानमाथि ७२–२० को सहज जित निकाल्यो। समूह चरणमा भारतसँग पराजित भएको नेपालले त्यसपछि पेरु, ब्राजिल र भुटानलाई हरायो। यसैगरी नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई पन्छायो।