काठमाडौं। दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतदेखि पोखरामा हुने भएको छ।
विश्व विद्यालय अनुदान आयोगको सह–आयोजना तथा गण्डकी विश्वविद्यालयको समन्वयमा प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्न लागेको हो।
प्रतियोगितामा विभिन्न चार खेलमा प्रतिस्पर्धा हुनेछ। भलिबल, एथलेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजकसमेत रहेका राखेप सदस्य डा मधुसुदन सुवेदीले जनाएका छन्। भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ। पुरुष/महिलातर्फ एथलेटिक्समा समान ४–४ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान २–२ स्पर्धामा खेल हुनेछ।
प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ६० खेलाडी सहभागी हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी गराए। दुईदिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशाला हातामा खेलाइने छ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा संयोजक सुवेदीको अध्यक्षतामा शुक्रबार राखेपमा बसेको बैठकमा छलफल भएको थियो।