काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११९ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको छ।
अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा बिहीबार बसेको बैठकले कर्णाली प्रदेशमा हुने खेलकुदको लोगो र मस्कट पारित पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको हो।
बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधार विना पेस गरेका संघका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।