काठमाडौं। नेपाली महिला टोली समूह विजेता बन्दै प्रथम खो–खो विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको तेस्रो तथा समूह ‘सी’ को अन्तिम खेलमा बिहीबार नेपालले बंगलादेशलाई ८२–२४ ले हराएको हो। योसँगै नेपाल समूहचरणमा शतप्रतिशत जित निकाल्न सफल रह्यो।
समूह ‘सी’मा नेपाल, भुटान र जर्मनीसँगै बंगलादेश र श्रीलंका थिए। समूह विजेता बनेको नेपालले चार खेलबाट १२ अंक जोड्यो। बंगलादेश पनि नौ अंकसहित समूह उपविजेता बनेर क्वार्टरफाइनलमा पुग्न सफल भयो।
यसअघि नेपालले समूहचरणमा जर्मनीलाई ७३–३४, भुटानलाई ९३–२४ र श्रीलंकालाई ११०–१० ले सहजै हराएको थियो। पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ।