काठमाडौं। नेपाली पुरुष टोलीले प्रथम खो–खो विश्वकपमा पहिलो जित हासिल गरेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले मंगलबार पेरुमाथि ८०–३४ को सानदार जित हासिल गरेको हो। प्रतियोगिताको पहिलो खेलमा भारतसँग नेपाल ४२–३७ को झिनो अन्तरमा पराजित भएको थियो।
पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ समूह ‘ए’ मा भारत र नेपालसँगै भुटान, ब्राजिल र पेरु छन्। महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ। महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ।