काठमाडौं। नेपालले हारबाट प्रथम खो खो विश्वकपको सुरुआत गरेको छ। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा सोमबार सम्पन्न खेलमा नेपालमाथि घरेलु टोलीले ४२–३७ को सहज जित दर्ता गरेको हो।
कप्तान तथा ‘वजीर’ प्रतीक वैकरको नेतृत्वमा भारतले सानदार प्रदर्शन गर्यो। भारतले उत्कृष्ट सुरुआत गरेको थियो। पहिलो टर्नको ६० सेकेन्डभित्रै नेपालका तीन डिफेन्डर आउट भएका थिए।
प्रतीक र रामजी कश्यपले पहिलो टर्नमा तीन मिनेट बाँकी रहँदा नेपालका दुई ब्याच डिफेन्डरलाई आउट गर्दै १४ अंकको ठूलो अग्रता दिलाए।
प्रतीकलाई प्रतिस्थापन गरेका सचिन भार्गोले उत्कृष्ट प्रदर्शन देखाए। उनले एक सानदार स्काइडाइभ गर्दै ब्रेकमा भारतको टच अंकलाई २४ मा पुर्याए, जसले नेपाललाई ‘ड्रिम रन’ (तीन मिनेटमा डिफेन्डर म्याटमा रहिरहने अवस्था) हासिल गर्नबाट रोक्यो।
नेपालले दोस्रो टर्नमा ६ अंक बनाउन लगभग दुई मिनेट लगायो। तर, बलियो पुनरागमन गर्न सफल रह्यो। भारतीय डिफेन्डरले ‘ड्रिम रन’ हासिल गर्न सकेनन्, जसका कारण नेपालले आफ्नो पालोमा २० अंक जोडेको थियो। नेपालका अलराउन्डर जोगेन्द्र राणा मुख्य आक्रामक बने। उनले दुई डाइभसहित चार अंक जोडे, जसले नेपाललाई खेलमा फर्कायो।
खो खो विश्वकप २०२५ को पहिलो ‘ड्रिम रन’ नेपालका भरत सारुले हासिल गरे। तर, यो जितका लागि पर्याप्त भएन। भारतले चौथो टर्नमा २१ अंकको अग्रता लियो। चौथो टर्नमा नेपालका झलक विकले उत्कृष्ट प्रदर्शन गरे। उनले भारतसँग अंकअन्तर पाँचमा झार्न सफल भएका थिए। तर, यो अन्तिम प्रयास पनि भारतलाई प्रभावशाली जित हासिल गर्न उनले रोक्न सकेनन्।
पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ समूह ‘ए’ मा भारत र नेपालसँगै भुटान, ब्राजिल र पेरु छन्। महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ। महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ।