काठमाडौं। अंकितमान श्रेष्ठले कोलम्बोमा भइरहेको तेस्रो सार्क स्नुकर च्याम्पियनसिपको सेमिफाइनल यात्रा तय गर्दै पदक पक्का गरेका छन्। यससँगै उनी नेपाली स्नुकर इतिहासमा पहिलो पदक विजेता भएका छन्।
मुर्स स्पोर्ट्स क्लबमा आयोजित च्याम्पियनसिपमा बिहीबार अंकित आफ्नो समूहचरणमा दोस्रो हुँदै नकआउट चरण प्रवेश गरेका थिए। त्यसपछि उनले श्रीलंकाका सुसन्था बोथेजुलाई निर्णायक फ्रेममा पराजित गर्दै ४–३ को जितसहित ऐतिहासिक पदक पक्का गरेका हुन्। स्नुकरमा सेमिफाइनल पुगेपछि पदक जित्ने पक्का हुन्छ। किनभने सेमिफाइनलमा हार्ने दुवै खेलाडीलाई कांस्यपदक दिने प्रचलन छ।
नेपाली खेलाडी अन्तर्राष्ट्रिय स्नुकर प्रतियोगितामा सहभागी भएको १८ वर्ष भएको छ, जसमा पहिलो पदक विजेता बनेका हुन् अंकित। प्रतियोगिता स्थलमा रहेका नेपाल बिलियर्ड, स्नुकर एन्ड पुल एसोसिएसनका अध्यक्ष सरोज कुमार मुल्मीले भने, ‘अंकितको नेपाललाई ऐतिहासिक पदक पक्का गरेका हुन्। यसअघि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट स्नुकरमा कुनै पदक जितेको थिएन।’
३७ वर्षीय अंकितले बंगलादेशमा भएका सार्क स्नुकर च्याम्पियनसिपका अघिल्ला दुई संस्करण पनि खेलेका थिए। च्याम्पियनसिपमा पाँच देशका १२ खेलाडी सहभािग छन्। अंकितसँगै कोलम्बो पुगेका आयुष गौतम भने समूह चरणबाटै बाहिरिए।