काठमाडौं। कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सचिवालयको औपचारिक उद्घाटन गरे।
प्रतियोगिताको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोस्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो। मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले केही खेल प्रतिस्पर्धा नेपालगन्ज र काठमाडौंमा पनि हुन सक्ने बताउँदै अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारे।
उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटेल लगायतका अवस्थाबारे पनि निरीक्षण भइरहेको बताए। आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले यसबारे थप छलफल गर्ने मन्त्री चौधरीले बताए। गत मंसिर २१ गते बसेको राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो।