काठमाडौं। सरकारले विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरिएको हो। सरकारको गत मंसिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुस्कार प्रदान गरिएको हो ।
गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी र प्रीति राई, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान तथा चीनको हाइजाओमा गत असोज १देखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याम्यियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे।
यसैगरी उनले गत साउन १७ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको काभा बीच महिला तथा पुरुष भलिबलका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार प्रदान गरे।