काठमाडौं। एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को प्रतिस्पर्धा नजिकिँदै जाँदा विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओर्लने क्रम बढेको छ। दुई प्रशिक्षक र पाँच खेलाडी काठमाडौं आइसकेका छन्।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि एनकेएलको पहिलो सिजन सुरु हुनेछ। फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।
भारतीय प्रशिक्षक आलोक सिंहले काठमान्डु माभरिक्सको टिम सम्हाल्न आइपुगेका हुन्। पोखरा लेकर्सले पनि भारतबाटै प्रशिक्षक भित्र्याएको छ। उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो।
धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोन्गो टिममा सामेल भइसकेका छन्। बाँकी चार खेलाडी बंगलादेशबाट आएका हुन्, जसमा काठमान्डु माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात छन्।
एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीकाअनुसार एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दैछन्।