काठमाडौं। ‘राइट टु प्रोटिन’ दौडको चौथो संस्करण आगामी माघ १२ गते हुने भएको छ। नेपाल भेटनरी संघको आयोजनामा हुने प्रतियोगिताको गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दीपक अधिकारी च्याम्पियन बनेका थिए।
करिब आठ हजार जनाको सहभागिता रहने यस प्रतियोगिताको दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ। विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर सकिने आयोजकले जनाएको छ।
प्रतियोगितामा खुला हाफ म्याराथन, १० किमी पुरुष, ५ किमी महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि पाँच किमी (छात्र), तीन किमी (छात्रा) र ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ समावेश छ।
प्रतियोगिता संयोजक सितलकाजी श्रेष्ठकाअनुसार ७४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा १७ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार रहेको छ। पुरुष र महिलालाई समान पुरस्कारको व्यवस्था गरिएको छ।
हाफ म्याराथनका विजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। गत वर्षको तुलनामा ५० हजार वृद्धि गरिएको हो। त्यस्तै, उपविजेताले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौं हुने धावकले ३० हजार हात पार्नेछन्। १० किमि दौडको विजेताले ५० हजार, विद्यार्थीतर्फ ५ कीमी र हिव्लचेयर दौडमा पहिला हुनेले समान ३० हजार, विद्यार्थीतर्फकै तीन किमीका विजेताले २० हजार प्राप्त गर्नेछन्।
सबै स्पर्धाका शीर्ष पाँच खेलाडीलाई नगद पुरस्कार दिइने आयोजक नेपाल भेटेनरी एसोसिएसनका कार्यवाहहक अध्यक्ष अशेष भट्टराईले बताए। चौथो संस्करणमा आठ हजार बढी सहभागी हुने अपेक्षा गरिएको छ।