काठमाडौं। थन्डरबोल्ट्स कप २०२४ अन्तर्गत बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ।
आइतबार भएको यु १८ समूहको अन्तिम नतिजामा जेम्सले स्वर्ण पदक जित्दा मनकामना स्कुल र डिएभी स्कुल संयुक्त रूपमा दोस्रो स्थानमा रहे।
त्यस्तै यु-१४ तर्फ पुरुष तथा महिलातर्फ दुवै समूहको बुद्धिचाल प्रतियोगिता प्रतियोगीहरूले प्राप्त गरेको अङ्कको आधारमा निसर्ग वाटिका स्कुलले स्वर्ण, बिएन एकेडेमीले रजत तथा इम्पेरिएल वर्ल्ड स्कुल र टिआइए स्कुलले कांस्य पदक प्राप्त गरे।
जुडो प्रतिस्पर्धामा पुरुषतर्फ नेपाल पुलिसले स्वर्ण, जेम्स स्कुलले रजत तथा हार्दिक एकेडेमीले कांस्य जितेका छन् ।
महिला जुडोतर्फ पनि नेपाल पुलिस स्कुलले नै स्वर्ण जिते। जेम्स स्कुलले रजत र नेपाल युवक सेकेन्डरी स्कुलले कांस्य पदक प्राप्त गरे।
त्यसै गरी तेक्वान्दोको पुरुष तथा महिला तर्फ विभिन्न तौल समूहको खेल सकिएपछि अङ्कको आधारमा पुरुषतर्फ जेम्स स्कुल प्रथम, नेपाल पुलिस स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् । महिलातर्फ जेम्स स्कुल प्रथम, रिजेन्ट रेसिडेन्सियल स्कुल द्वितीय र टेरेसा एकेडेमी तृतीय भएका छन् ।
त्यसै गरी फुटसल खेलतर्फ १८ वर्षमुनिका छात्र समूहबिचको फुटसल खेल सम्पन्न भएको छ । १० विद्यालयले भाग लिएको उक्त स्पर्धाबाट ब्लुबर्ड सेकेन्डरी स्कुल प्रथम, चेल्सी वर्ल्ड स्कुल द्वितीय र रातो बङ्गला स्कुल तृतीय भएका छन् ।
बास्केटबलको यु-१८ छात्रतर्फ जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेज फाइनलमा प्रवेश गरेका छन् भने तेस्रो स्थानको लागि बर्न हार्ट कलेज र काठमान्डु वर्ल्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ।
आज भएको सेमिफाइनलमा जेभियर इन्टरनेसनल कलेजले बर्न हार्ट कलेजलाई ६६-४० ले र टाइम्स इन्टरनेसनल कलेजले काठमान्डु वर्ल्ड स्कुललाई ६५-५० ले पराजित गरेको थियो।
यु-१८ छात्रातर्फ भने भएको सेमिफाइनल खेलमा भ्याली पब्लिक स्कुलले नामी कलेजलाई ५३-३४ ले र जेम्स स्कुलले रिब्स स्कुललाई २९-२२ ले पराजित गरी फाइनलमा प्रवेश गर्यो।
त्यसै गरी यु-१६ छात्रतर्फको खेलमा सेन्ट जेभियर्स स्कुलले एलआरआई स्कुललाई ६६-५९ ले र मातृभूमि स्कुलले रातो बङ्गला स्कुललाई ४१-४० ले पराजित गरी फाइनलमा प्रवेश गर्यो।
फुटबल खेलतर्फ १२ वर्षमुनि छात्र समूह अन्तर्गत सेमिफाइनलमा चेल्सी वर्ल्ड स्कुलले जेम्स स्कुललाई ३-० गोलले तथा एपिएफ स्कुलले ब्लुम नेपाल स्कुललाई १-० ले पराजित गरी फाइनलमा प्रवेश गर्यो।
१६ वर्षमुनि छात्रको सेमिफाइनलमा एपिएफ स्कुलले विनायक स्कुललाई ३-० गोलले तथा नेपाल पुलिस स्कुलले जेम्स स्कुललाई ३-० को गोलले पराजित गरी फाइनल पुग्न सफल भयो।
त्यसै गरी क्रिकेट खेलतर्फ १२ वर्षमुनि छात्रमा डिएभी स्कुल, जेम्स स्कुल, चेल्सी वर्ल्ड स्कुल र लिटिल एन्जेल्स स्कुल सेमिफाइनलमा पुगेका छन्।
डिएभी स्कुलले एलआरआई स्कुललाई २३ रनले, जेम्स स्कुलले भ्याली पब्लिक स्कुललाई ३३ रनले, चेल्सी वर्ल्ड स्कुलले रेडियन्ट रिडर्स स्कुललाई ३ विकेटले र लिटिल एन्जेल्स स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई ८ विकेटले पराजित गरेको थियो।