काठमाडौं। काठमाडौं युरो स्कुल, गोंगबुले करातेकी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा दुवै खेलाडीलाई खेलकुदको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान गरेवापत् सम्मान गरेको हो।
काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले एरिका र सरुलाई नगदसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे।
सोही अवसरमा एरिका र सरुले स्पोर्ट्स मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरे। स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो।
काठमाडौं युरो स्कुलले विगतमा ‘साम्बा’ उपनामले चिनिने राष्ट्रिय महिला टोलीकै सावित्रा भण्डारी, दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो।
एसियाली खेलकुद र एसियाली सिनियर कराते च्याम्पियनसिपकी ऐतिहासिक रजत विजेता एरिकाले आफूले समग्रमा खेलेको ६ अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य जितेकी छन्। इटालीमा भएको १३औं विश्व कराते च्याम्पिन्सिपमा भने एरिकाले एक ‘बाउट’ जितिन्।
राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट मिडफिल्डर सरुले भारत र पाकिस्तानमा व्यवसायिक लिग खेलेकी छन्।