धरान । तेस्रो पानबारी ओपन ब्लिज चेस प्रतियोगितामा पथरी मोरङा लोकसागर साम्बा शतप्रतिशत जितसहित नौ अंक बटुल्दै पहिलो भएका छन् ।
१७३४ रेटेड लोकसागरले अन्तिम चरणमा धरानका राजेन्द्र राई १८७३ रेटेड लाई पराजित गर्दै शतप्रतिशत जित हात पारेका थिए । राजेन्दसँगै विराटनगरका उमेश राई, धरानका विष्णु लिम्बु र रोशन खड्गी, मेचीनगरका विश्वविजय घिमिरेले समान ७ अंक जोडे । टाइब्रेकरको आधारमा राजेन्द्र दोस्रो, उमेश तेस्रो, विष्णु चौथो, विश्वविजय पाँचौं र रोशन छैटौं भए ।
धरानका प्रज्वल घिमिरे ६.५ अंकसहित सातौंमा रहे । दमककी कृतिसरा अधिकारी आठौं, इटहरीका योगेश राई नवौं र दमकका सुमन श्रेष्ठ दसौं भए । समान अंक भएपनि टाइब्रेकरको आधारमा वरीयतामा निर्धारण गरिएको हो ।
भेट्रनतर्फ जीवन एभेङ, विद्यार्थीतर्फ इमरान खान, महिलातर्फ झरना तामाङ उत्कृष्ट भए । स्थानीय पानबारी स्पर्धामा सचिनदेव राय पहिलो, विनोद राई दोस्रो, गोविन्द कुँवर तेस्रो, झरना तामाङ चौथो र नगेन्द्रबहादुर बस्नेत पाँचौं भए ।
धरान उपमहानगरपालिका वडा नं ६ द्वारा आयोजित एकदिने प्रतियोगितामा विजेताले १० हजार, उपविजेताले ७ हजार र तस्रो हुनेले ५ हजार रुपिया हात पारे ।
शीर्ष १० र पानबारीका उष्त्कृष्ट ५ सहित १७ खेलाडीलाई नगद पुरस्कार दिइएको थियो । प्रतियोगितामा ७४ खेलाडी सहभागि थिए ।