काठमाडौं। ब्रिटिस काउन्सिलद्वारा आयोजित ‘वाह वुमेन अफ द वर्ल्ड फेस्टिभल नेपाल’ मा महिला खेलाडी र खेल क्षेत्रका भोगाइबारे बहस गरिएको छ।
राष्ट्रिय चेस प्रतियोगिताकी पहिलो विजेता मोनालिसा खम्बू, पारा बास्केटबल तथा पावर लिफ्टिङका पूर्वखेलाडी निर्मला भण्डारी र क्रिकेटर संस्कृति फुयाँल ‘वाह टक्स एन्ड बिग आइडियाज : अ लिग अफ हर अवन’ मा प्यानलिस्टका रूपमा रहेका थिए। उनीहरूले सहजकर्ता विद्यालक्ष्मी महर्जनको जिज्ञासामा आ–आफ्ना अनुभव साटेका थिए।
पारा एसियन गेम्स खेलेकी निर्मलाले अपांगका प्रतियोगितालाई सम्बन्धित निकायले पनि बेवास्ता गरेको उल्लेख गर्दै र यसका खेलाडीलाई पनि सम्मानपूर्वक व्यवहार गरिनुपर्ने बताइन्। उनले अपांग भएकाहरूलाई खेलमा सहयोग गर्ने लक्ष्यसाथ निर्मला फाउन्डेसन सञ्चालन गरिरहेकी छन्।
नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी मोनालिसाले एउटा महिला खेलाडीका रूपमा दुई दशकयता बेहोरेका कठिनाइ र गरेका संघर्षबारे चर्चा गरिन्। उनले अस्वस्थ प्रतिस्पर्धाका कारण खेलाडीभन्दा पदाधिकारीको भूमिकामा गाह्रो महसुस गरेकी पनि बताइन्।
नक्सालस्थित श्री नन्दी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बाग्मती प्रदेश महिला क्रिकेट टिमकी खेलाडी संस्कृतिले बुबा, प्रशिक्षक र कलेजको साथ र सहयोगले नै पढाई सँगसँगै क्रिकेटमा लागिरहन उत्साह मिलेको बताइन्। महिला विशेष दुई दिने कार्यक्रममा पहिलोपल्ट खेलकुदलाई बहसको विषय बनाइएको हो।