काठमाडौं। पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १० औं राष्ट्रिय खेलकुद निर्धारित समयमा सम्पन्न गर्न नचाहनु खेलाडीको सपना र कर्णाली प्रदेशको भविष्यप्रति गम्भीर अन्याय रहेको बताएका छन्।
यसअघि प्रतियोगिता मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा आयोजना हुने भनिएको थियो। तर, मंसिर ६ गते पुगिसक्दा पनि प्रतियोगिता हुने छाँटकाँट देखिएको छैन। नयाँ मिति पनि घोषणा भएको छैन। श्रेष्ठले प्रतियोगिताका लागि सरकारले करोडौं बजेट विनियोजन गरेको र कर्णाली प्रदेशले पनि आफ्नो क्षेत्रमा ठूलो लगानी गरी भौतिक संरचना निर्माण गरेको स्मरण गराएका छन्।
‘यस्ता ठोस तयारीहरूका बाबजुद युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न बहानामा यो महत्त्वपूर्ण कार्यक्रम समयमा सम्पन्न नगर्नु सम्पूर्ण खेलाडीहरूप्रति गम्भीर अन्याय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ मन्त्रालय र परिषद्को यस लाचारीको प्रत्यक्ष असर खेलाडीहरूको मनोबलमा परेको छ भने अप्रत्यक्ष रूपमा कर्णाली प्रदेशले पनि यसबाट ठूलो नोक्सान बेहोर्नु परेको छ। यस्तो अवस्थालाई नीतिगत भ्रष्टाचारको एउटा रूप मान्ने कि नमानेर थाती राख्ने?’
राष्ट्रिय खेलकुदजस्तो महत्त्वपूर्ण कार्यक्रमले राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग पुर्याउने उनले बताएका छन्। तर, खेर मन्त्रालय र परिषद्ले यो अवसर खेर फ्यालेको उनको भनाइ छ।
‘यस्तो महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रम समयमा सम्पन्न गर्न नचाहनु खेलाडीहरूको सपना र कर्णाली प्रदेशको भविष्यप्रति गम्भीर अन्याय हो,’ उनले भनेका छन्।