काठमाडौं । स्याङ्जा जिल्लामा माघ अन्तिम साता क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा माघ २६ गते स्याङ्जाको पुतलीबजारमा दौड हुने भएको हो ।
बहाकोट सम्पर्क मञ्चले मंगलबार पत्रकार सम्मेलन गर्दै १४ कि.मी (२१ वर्ष मुनिका) र ३१ कि.मी. (खुल्ला) स्पर्धाको क्रस कन्ट्री दौड हुने जनाएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितियलाई १५ हजार, तृतियलाई १० हजार पुरस्कार दिईनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई ५० हजार, द्धितियलाई ४० हजार, तृतियलाई ३० हजारको पुरस्कार दिईनेछ ।
दुवै समूहको प्रथम, द्धितिय र तृतिय हुनेलाई ट्रफी र मेडलसहित प्रमाणपत्रपनि प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगितामा दश जना सम्मलाई मेडल र प्रमाणपत्र प्रदान पनि गरिने आयोजकले जनाएको छ ।
दौड पुतलीबजार–९ कोल्मा बराहचौरबाट सुरु भई पुतलीबजार–८, शुक्लागण्डकी–९ तनहुँ र बिरुवा गाउँपालिका–४ बाट पुतलीबजार–९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।