काठमाडौं । नेपाल फुटबल खेलाडी संघको पहलमा फुटबलर रोस्तिप ठकुरीको सफल सल्यक्रिया गरिएको छ । खेल्ने क्रममा घुँडामा गम्भिर चोट बोकेका रोस्तिपले सफल सल्यक्रिया गरिएको हो ।
संघको पहलमा बि एण्ड बि हस्पिटलले रोस्तिपको सल्यक्रिया गरेका हो । सल्यक्रियामा आवश्यक पर्ने मेडिकल सामाग्रीको खर्च संघ सहित अमेरिकामा बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी मधु कार्की र प्रशिक्षक जय किसन श्रेष्ठले गरेका थिए ।
संघका अध्यक्ष बिक्रम लामाले आर्थिक अवस्था कमजोर भएका खेलाडीको उपचारमा सहयोग पुर्याउने कार्यक्रम अनुसार रोस्तिपको उपचारमा सहयोग गरिएको बताए ।
उनले युवा खेलाडी रोस्तिपको उपचारका लागि पूर्व राष्ट्रिय खेलाडी मधु कार्की र थ्री स्टार क्लबका उपाध्यक्ष जय किसन श्रेष्ठबाट आर्थिक सहयोग प्राप्त भएको बताए । डिभिजन लिग समेत नखेलेका युवा फुटबलरको उपचार कठिन देखिएको अवस्थामा संघले अघि सरेर आवश्यक सहयोग जुटाएको लामाले बताए ।
रोस्तिप अहिले घुँडाको सफल सल्यक्रिया पश्चात फिजियोथेरापीमा व्यस्त रहेको संघले जनाएको छ ।
फुटबल खेलाडी संघले बि एण्ड बि हस्पिटलसँग मिलेर खेल्ने क्रममा चोट बोकेका खेलाडीको उपचारमा आंशिक र पूर्ण निशुल्क सल्यक्रिया गराउँदै आएको छ । संघको पहलमा यसअघि थुप्रै चोट बोकेका फुटबलरले बि एण्ड बि हस्पिटलबाट सल्यक्रियाको सुविधा लिएका छन् ।