काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रंगशालाका लागि सरकारले जग्गा खोजिरहेको बताएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीसँगको भेटमा उनले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार सरकारले ५० हजारसम्म दशर्क अट्ने रंगशालाका लागि जग्गा खोजिरहेको हो। ‘५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको छ,’ उनले भने।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको क्षमता १५ हजार चार सय मात्रै रहेको छ। तर, कतिपय स्थान नाजुक भएको कारणले १२ हजार दर्शकमात्रै राखेर खेल देखाउन मिल्ने अवस्था रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताउँदै आएको छ। तर, १२ हजार दर्शक क्षमता भएपनि भिआइपी र भिभिआइपीसमेत राखेर १८ हजारभन्दा बढीलाई खेल देखाउँदै आइएको छ।
भारत र नेपालबीचको सेमिफाइनलमा १८ हजार ९ जना दर्शकले खेल हेरेको म्याच रिपोर्टमा उल्लेख थियो। तर, एन्फाले भने २१ हजारभन्दा बढी दर्शक राखेर खेल हेराएको बताउँदै आएको छ। यस्तै, बंगलादेश र नेपालबीचको सेमिफाइनलमा पनि उत्तिकै दरमा दर्शक रंगशाला प्रवेश गरेपनि १५ हजार चार सयको हारहारीमा मात्रै छिराएको म्याच रिपोर्टमा उल्लेख थियो।
रंगशालामा उपस्थितिकै संख्यामा टुँडिखेलमा देखाइएको प्रत्यक्ष प्रसारण हेर्न दर्शक उपस्थित भएका थिए। त्यसैले दशरथ रंगशालाको विकल्प खोज्नुपर्ने माग उठिरहेको छ।