काठमाडौं । एसिया रग्वी सेभेन्स ईमिरेट्स ट्रफी भोली शुक्रबारदेखि काठमाडौंमा सुरु हुदैछ ।
एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता नेपालले आयोजना गर्दैछ । आयोजक नेपाल रग्वी संघले एसियाका १७ राष्ट्रलाई नेपालमा आमन्त्रण गरेर एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
बिहीबार पत्रकार सम्मेलनमार्फत नेपाल रग्वी संघका अध्यक्ष दिपक देवकोटाले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए । एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता आयोजना गरेर नेपालले अन्तराष्ट्रिय खेलकुदमा सन्देश दिन चाहेको देवकोटाले सुनाए ।
दशरथ रंगशालामा शुक्रबार सुरु हुने प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र जोर्डन भिड्नेछन् । समूह एको पहिलो खेलमा दुई टोली बिहान साढे ८ बजे भिड्नेछन् । प्रतियोगितामा नेपाल सहित १४ पुरुष टिम र महिलाका ८ टिम खेल्ने तय भएको छ ।
एसियाको उमेर समूहको प्रतियोगिताको आयोजना पश्चात रग्वी एसियाले नेपाललाई सिनियर स्तरको प्रतियोगिताको आयोजना गर्ने अवसर दिएको हो ।
प्रतियोगिताका लागि नेपालको महिला र पुरुष टिमले करिब दुई महिना बढी समयदेखि पोखरामा प्रशिक्षण गरेका थिए । नेपालले यस प्रतियोगितामा पोल च्याम्पियन बन्ने लक्ष्य राखेको रग्वी संघले जनाएको छ ।