हेटौँडा। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुर जिल्लाका फुटबलरको शव सोमबार बिहान हेटौँडा ल्याइएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को युथ–१४ एकेडेमीमा रहेका ४० जनामध्ये खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो। शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरी मृतक खेलाडीको शव आइतबार नै हेटौँडा ल्याउने तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।
आज बिहान करिब ९ बजेको समयमा हेटौँडा–११ स्थित वाग्मती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत मकवानपुर जिल्लाको तीन जना खेलाडीको शव हेटौँडा ल्याइएको हो।
मकवानपुरको सिस्नेरी घर भएका दिवस बानियाँ, हेटौँडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोले पुरेर मृत्यु भएको थियो।
प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवाल र मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा मृतकको शव आफन्तलाई जिम्मा लगाइएको थियो।
मृतको शव हेटौँडा–४ स्थित जिल्ला खेलकुद विकास समितिमा राखिएको छ। मृतकको खेलाडी पार्थिव शरीरमा खेलाडी, प्रशिक्षक, खेल प्रेमी, जनप्रतिनिधिहरूले पुष्प गुच्छा अर्पण गरेका छन्। एन्फा मकवानपुरको संयोजनमा खेलाडीको शवलाई उक्त स्थानमा राखिएको हो।